बुक बिल्डिङका लागि मूल्य तोक्न ४६ कम्पनी छानिए, को को छन् बोर्डले छानेको कम्पनी सूचीमा

काठमाडौं। धितोपत्र बोर्डले ४६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्रदान गरेको छ। बोर्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मूल्य निर्धारणमा यी संस्थाहरुको योगदान रहने अपेक्षासमेत गरेको छ।

धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेको बुक बिल्डिङ विधि प्रारम्भिक सार्वजनिक निष्कासनमा लागू गर्न बोर्डले यसअघि निर्देशिका जारी गरेको थियो।

वास्तविक क्षेत्रका केही कम्पनीहरुले बुक बिल्डिङ विधिमार्फत् धितोपत्रको सार्वजनिक निष्कासन गर्न तयारी समेत गरिरहेको सन्दर्भमा बोर्डले इच्छुक संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रूपमा स्वीकृति लिन आह्वान गरेको थियो।

यसमा ६२ संस्थाहरुले निवेदन पेश गरेका थिए। त्यसमध्ये ४६ वटा छानिएका हुन्।

स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सूसुचीत तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारण गर्न सहयोग गर्ने बोर्डले जनाएको छ।

Recent News